साउदी अरवमा नेपाली महिला कामदारका मागपत्र प्रमाणिकरण सम्बन्धी नेपाली राजदूतावासको सूचना

 साउदी अरवमा नेपाली महिला कामदारका मागपत्र प्रमाणिकरण सम्बन्धी नेपाली राजदूतावासको सूचना

वैदेशिक रोजगारीको लागि साउदी अरव आएका कैंयौं  नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषयमा नेपाली राजदूतावासमा बारम्बार गुनासो आएपछि राजदूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा रहेका नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा पारिश्रमिककम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्र भन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको, पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जांदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु नेपाली महिला कामदारहरुमा पाइयो । सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइयो । कामदार सर्वेक्षण पछि पनि थप स्थानहरुबाट महिला कामदारहरुका गुनासा आइरहेको हुनाले, हाललाई सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा नेपाली महिला कामदारहरु ल्याउने सम्बन्धी मागपत्रहरु नेपाली राजदूतावासबाट प्रमाणिकरण गर्ने कार्य स्थगित गरिएको  सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

 

नेपाली राजदूतावास
रियाद ।
२०७६।४।२०