साउदी अरबमा कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको सूचना ।
1. साउदी अरबको मानव साधन तथा सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरबको कानूनले कर्मचारी तथा कामदारहरुलाई उनीहरुको सहमति वेगर वेतलवी विदा दिन नमिल्ने जनाएको छ । कोरोना भाइरसको संक्रमणको परिस्थितिले कामदारहरुले नियमित तरिकाबाट काम गर्ने अवस्था नभएका कारण कम्पनी तथा फर्महरुले वैकल्पिक उपायबाट काममा लगाइ काम सम्पन्न गर्न सक्ने उल्लेख गरेको छ । यसका लागि मन्त्रालयले आवश्यक गाइडलाइनहरु तयार गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको जनाएको छ । साउदी कानूनमा भएको व्यवस्था पालना गर्न सबै निजी कम्पनी तथा फर्महरुलाई साउदी सरकारले अनुरोध गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ । साउदी श्रम कानूनको अवज्ञा गरी कामदारको इच्छा विपरित विना पारिश्रमिक विदा बस्न वाध्य बनाइएमा सोको उजुरी स्मार्ट फोन भएकाहरूले Ma3an lil Rsd एपमा र अन्य फोन भएकाले १९९११ नम्वरमा गर्न सकिने छ ।
तसर्थ, यहांहरु कार्यरत कम्पनी वा फर्मले यहांहरूको सहमति वेगर वेतलवी विदामा राख्न खोजेको वा राखिसकेको आदि छ भने साउदी सरकारले उपलव्ध गराएको संयन्त्रमा उजुरी गर्नुहुन अनुरोध छ । यसरी यहांहरुले गरेको उजुरीको प्रति यस राजदूतावासको हटलाइन (०५५९३८९६००) मा WhatsApp गरी पठाउनुहुन अनुरोध छ । उजुरीका सम्बन्धमा राजदूतावासले यहांका सम्बन्धित कार्यालयहरुसंग समन्वय गरी समस्या समाधानको पहल गर्नेछ ।
2. साउदी सरकारले कोरोना भाइरसका कारण विभिन्न हिसाबले प्रभावित भएका रोजगारदाता तथा श्रमिकहरुका लागि केही सुविधाका कार्यक्रम ल्याएको छ ।
- साउदी सरकारले आप्रवासी कामदारको आवागमनमा रोकलगाएको मिति देखि ३ महिना सम्मको Work Visa का लागि तिरेको शुल्क रोजगारदातालाई फिर्ता दिने । तसर्थ, रोजगारदाताले कामदारबाट यो अवधिको भीसा शुल्क भनेर कुनै लिन पाउने छैनन् । यसो गरेमा रोजगारदातालाई सरकारले कार्यवाही गर्नेभएकाले कुनै रोजगारदाताले यहांहरुसंग भीसाको शुल्क लिने प्रयास गरेका छन् भने उजुरी गर्नुहोला । राहदानीमा भीसा छाप हानेको छ भने पनि यो अवधि गणना हुने छैन ।
- Exit र Re-entry भीसा लागेका तर आवागमन बन्द भएका कारण प्रयोग नभएका भीसाहरु ३ महिनाको यो अवधिका लागि विना कुनै शुल्क म्याद थप हुने छन् ।
- अकामाको अवधि सकिएका Expatriate हरुले तिर्दै आएको लेभी ३ महिनासम्मका लागि माफ गर्ने एवं अकामा निशुल्क नवीकरण हुनेछ ।
3. कोरोना भाइरसको संक्रमण साउदी अरबमा हरेक दिन बढिरहेको छ । हिजो मिति २०७६।१२।७ (२० मार्च २०२०) का दिन मात्र ७१ जना व्यक्तिमा यो संक्रमण भेटिएको छ । यस मध्ये राजधानी रियाद क्षेत्रमा मात्र ४९ जनामा संक्रमण पाइएको छ । यो संगै साउदी अरबमा यो भाइरसबाट संक्रमितहरुको संख्या ३९२ पुगेको छ ।
4. सामाजिक भेटघाट, विवाह पार्टी, मृत्युभएका स्थानका जमघट, साथिभाइका जमघट, उपभोगका सामाग्री खरीदका समय, अस्पताल र पारिवारिक जमघटहरुका समयमा यो भाइरसको संक्रमण बढी पाइएको साउदी प्रेसले जनाएको छ । अस्पतालका एक जना कर्मचारीमा पनि यो संक्रमण भेटिएको उल्लेख छ । तसर्थ हरेक अवस्थामा सजगता अपनाउनुहुन साउदी अरबमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा अनुरोध छ ।
साथै, कोरोना संक्रमणका यी जोखिमपूर्ण जमघटहरु नगर्न यहांहरुले नेपालमा भएका आफ्ना प्रीयजनहरु, छरछिमेक तथा साथिभाइलाई पनि सचेत गराइ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नेपाल सरकारको व्यापक अभियानमा मद्यत गरिदिनुहुन अनुरोध छ ।
नेपाली राजदूतावास, रियाद ।
२०७६।१२।८