कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।

  1. साउदी अरबको स्वास्थ्य मन्त्रालयले हिजो मिति २०७६।११।१८(तदनुसार मार्च १, २०२०) मा उपलव्ध गराएको जानकारी अनुसार साउदी अरबमा हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन ।
  2. एक व्यक्तिबाट अर्को व्यक्तिमा सजैलै सर्ने यस भाइरसको साउदी अरबमा संक्रमण रोक्न साउदी अधिकारीहरुले सार्वजनिक गरेका केही महत्वपूर्ण जानकारी नेपाली समुदायका लागि उपयोगी देखिएकाले समावेश गरिएको छ ।
  • उमराह (Umrah) तथा Prophet’s Mosque को भ्रमणमा साउदी आउने इस्लाम धर्मावलम्वीहरुका सबै प्रकारका भ्रमण अस्थायीरूपमा बन्द गरिएको छ । यस सम्बन्धी भीसा प्रकृया नै बन्द गरिएको छ । यो सूचना माथिको प्रयोजनका लागि साउदी आउने नेपाली नागरिकहरुलाई उपयोगी देखिन्छ ।
  • जनवादी गणतन्त्र चीन (ताइवान, हङकङ र मकाउ समेत) र इरानको भ्रमण गरेका कुनै पनि नागरिकले उक्त भ्रमण समाप्तिको १४ दिन पूरा भएपछि मात्र साउदी अरबको भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । यो शर्त पूरा नगरेका नेपाली नागरिकहरु ती स्थानबाट साउदी अरब नआउनुहुन अनुरोध छ । ट्रान्जिटमा रहनेहरुका लागि पनि यो व्यवस्था लागू हुने छ ।
  • केही देशहरुबाट भ्रमण भीसा तथा पर्यटक भीसा (Visit visa तथा Tourist visa) मा साउदी अरब आउन अस्थायी रुपमा बन्द गरिएको छ । नेपालबाट भ्रमण भीसा तथा पर्यटक भीसामा साउदी आउनलाई भने हाललाई बन्द गरिएको छैन । यस प्रावधानले परिवारका सदस्यलाई साउदी अरब ल्याउने तयारीमा रहेका नेपालीले परिवारका सदस्य ल्याउन सक्नुहुनेछ ।
  • साउदी सरकारले Saudi Center for Disease Prevention and Control लाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । साउदीमा रहनुभएका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिने प्रयास गर्नुहुन अनुरोध छ । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्नुहोस् ।
  • साउदी सरकारले देशका विभिन्न २५ बटा अस्पताललाई यो रोगको उपचारका लागि तयारी अवस्थामा राखेको र २२०० बेडहरुलाई क्वारेन्टाइन बेडका रुपमा व्यवस्था गरेको जनाइएको छ । यी अस्पतालका सूची प्राप्त भएपछि पोष्ट गरिने छ ।

माथि उल्लेख जानकारीका अतिरिक्त निम्न कुराहरुमा ध्यान दिन नेपाली राजदूतावास यहां रहनुभएका नेपालीहरुमा अनुरोध गर्दछ ।

  1. साउदी अरबका केही छिमेकी मुलुकहरु संयुक्त अरब इमिरेट्स (यूएइ), कुवेत, बहराइन तथा कतारमा यो रोगका विरामीहरु फेला परेका छन् । तसर्थ, यी देशहरुको भ्रमण गर्नुपर्ने अवस्थमा पूर्ण सजगता अपनाउनुहुन अनुरोध छ ।
  2. साउदी अरबमा विभिन्न मुलुकका नागरिकहरु कार्यरत रहेका हुंदा उनीहरुसंगको भेटघाट, अंकमाल तथा हातमिलाउने कार्यलाई अत्यावश्यक अवस्थाका लागि मात्र सीमित गर्नुहुन अनुरोध छ । विदेशी नागरिकहरु धेरै भेला भएका स्थानहरुमा अत्यावश्यक भएमा बाहेक नजानुहोस् ।
  3. रुघा खोकी लागेका, ज्वरो आएका तथा स्वासप्रस्वाशमा समस्या देखिएका जो कोहीसंग पनि सजगताका साथ व्यवहार गर्नुहोस् र केही दुरीमा बस्नुहोस् ।
  4. नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरु सकेसम्म कम गर्नुहोस् । कार्यक्रम गर्दा मास्कको अनिवार्य प्रयोग गर्नुहोस् ।
  5. नियमित हात धुनुहोस्, खोक्दा, हाछ्युं गर्दा रुमाल वा टिस्युले नाक र मुख छोप्नुहोस् ।
  6. मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानुहोस् ।
  7. मादक पदार्थ सेवनबाट शरीर शीथिल हुने र शीथिल शरीरमा रोगव्याधीले सजिलै आक्रमण गर्ने एवं शरीरमा रोग लागेको अड्कल गर्न समेत कठीन हुने भएकाले मादक पदार्थ सेवन नगर्नुहोस । साउदी अरबमा मादक पदार्थ सेवन गर्नु गम्भीर अपराध भएको समेत यहां पुन: स्मरण गराइन्छ ।

 

नेपाली राजदूतावास
रियाद ।
२०७६।११।१९