साउदी अरवमा श्रमिकका समस्या समाधान तथा माग प्रमाणीकण सम्बन्धमाः

  • यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्वय गर्ने उद्देश्यका साथ गत जनवरी, २०२१ देखि अनलाईन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको छ ।
  • हालसम्म विभिन्न रोगजारदाता कम्पनीले पेश गरेका १५,५०० भन्दा बढि मागपत्र मध्ये १३,००० भन्दा बढि मागपत्रबाट (एक लाख चालीस हजार नेपाली कामदारको लागि) माग प्रमाणीकरण भईसकेको यो सँगै साउदी अरवमा रहने नेपाली कामदारको संख्या करीव चार लाख पुगेको अनुमान छ । यस अवधिमा नेपालका करीव ६०० वटा इजाजतपत्रवालासंस्थाहरू तथा ११००० भन्दा बढि रोजगारदाता कम्पनीसँग सहकार्य भएको छ ।
  • हालैका दिनमा साउदी अरव आएका खासगरी नयाँ कामदारहरूले आफू वैदेशिक रोजगारीमा आउदा ठूलो रकम इजाजतपत्रवाला संस्था र तिनका प्रतिनिधिहरूलाई बुझाएको तर रोजगार करारपत्रमा उल्लेख भए अनुसारको काम, तलव भत्ता लगायतका सेवा सुविधा नपाएकोले सो उपलब्ध गराइपाँउ वा उद्वार गरी नेपाल फर्काउन सहयोग गरी पाँउ भनी लिखित/मौखिक तथा राजदूतावासमा स्वंय नै उपस्थित भईअनुरोध गर्नेको संख्या बढेको छ । कामदारका नेपालका परिवारका सदस्यहरूमार्फत वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग मन्त्रालयको कल सेन्टर, वैदेशिक रोजगार वोर्ड लगायतका सरकारी निकाय तथा विभिन्न मिडियाहरूमार्फत अनुरोध गर्नेको संख्या समेत उल्लेख्य वृद्धि भएको छ । अतः श्रमिक समस्या समाधान र मागपत्र प्रमाणीकरणलाई संगसंगै लैजानु पर्ने अवस्था आईपरेको छ ।
  • वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियामावली, २०६४ अनुसार कुनै इजाजतप्राप्त संस्थाबाट पठाइएका नेपाली कामदारले रोजगार करारपत्रमा उल्लेख भए अनुसारको काम, तलव भत्ता लगायतका सेवा सुविधा नपाएकोले सो उपलब्ध गराइपाँउ वा उद्वार गरी नेपाल फर्काउन सहयोग गरी पाँउ भनी उजुरी गरेमा सम्बन्धित इजाजतपत्रवालाले त्यस्तो कामदारलाई स्वदेश फर्काउनु पर्नेछ (ऐनको दफा ७५) भन्ने कानूनी व्यवस्था रहेको छ।
  • कुनै पनि नेपाली कामदारबाट यस्ता प्रकारका गुनासा प्राप्त भएमा राजदूतावासले तत्कालै सम्बन्धित रोजगादाता कम्पनीमा सम्पर्क गरी प्राप्त गुनासा समाधान गर्नको लागि अनुरोध गर्ने गरेको छ । यसरी अनुरोध गर्दा पनि समाधान हुन नसकेका गुनासाहरू वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियामावली, २०६४ अनुसार तथा सम्बन्धित रोजगादाता कम्पनी र इजाजतपत्रपाला संस्थावीच भएको द्विपक्षीय सम्झौता अनुसार यथाशिघ्र समाधान गर्नुहुन भनी सम्बन्धित इजाजतपत्रवाला कम्पनीलाई पत्राचार गर्ने गरिएको छ । यसरी पत्राचार गरिसकेपछि केही इजाजतपत्रवाला संस्थाले समस्या समाधान गर्ने प्रयास गरेका छन् तर केही इजाजतपत्रवाला संस्थाले कामदारको समस्या समाधान नगरी विभिन्न निकायमा गई उल्टै समस्या समाधान गराउन राजदूतावासतर्फ तेर्साउने र  आफ्नो मागपत्र मात्र प्रमाणीकरण गर्न अनुचित दवाव दिने गरेका छन् । उनीहरूको दवावमा मागपत्र प्रमाणित भने गर्ने गरिएको छैन ।
  • यसरी कुनै इजाजतपत्रवाला संस्थाले पठाएका कामदारले लिखित रूपमा राजदूतावासमा सिधै उजुरी गरेमा वा कामदारको तर्फबाट नेपालमा वैदेशिक रोजगार विभाग वा अन्य कुनै सरकारी निकायमा उजुरी गरी सोको लिखित विस्तृत जानकारी राजदूतावासमा प्राप्त हुन आएमा उक्त समस्या समाधान नभएसम्मको लागि त्यस्ता इजाजतपत्रवाला संस्थाको नाममा तयार भएका मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण काम राजदूतावासबाट स्थगित गर्ने गरिएको छ । समस्या समाधान भएको लिखित जानकारी उजुरीकर्ताबाट प्राप्त भएपछिमात्र समस्याको प्रकृति हेरी उक्त इजाजतपत्रवाला कम्पनीको माग प्रमाणीकरणको काम थप प्रक्रिया शुरू गर्ने गरिएको छ ।  तर एउटै इजाजतपत्रवालाले पठाएका कामदार पटक-पटक समस्यामा परेमा थप मागपत्र प्रमाणीकरण गरिदैन ।
  • अतः आफ्नो इजाजतपत्रवाला संस्थाबाट साउदी अरव पठाइएका कामदारसँग निरन्तर सम्पर्कमा रहन, रोजगार करारपत्रमा उल्लेख भए अनुसारको काम, तलव भत्ता लगायतका सेवा सुविधा नपाएको गुनासो प्राप्त भएमा सम्बन्धित रोजगारदाता कम्पनीमा सम्पर्क गरी त्यस्ता गुनासाको अविलम्व संवोधन गर्नु गराउनुहुन सम्बन्धित सबै इजाजतपत्रवाला संस्थाहरूलाई अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास, रियाद