साउदी अरवमा नेपाली कामदार पठाउने इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास, रियादको अनुरोध

साउदी अरवमा नेपाली कामदार पठाउने इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास, रियादको अनुरोध

 नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको सम्बन्धमा सबै इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाईविदितै छ । रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । सरकारले अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खानाको लागि साउदी रियाल ३०० हुनुपर्ने निर्णय गरेको छ । नेपाली राजदूतावास रियादले राजदूतावासमा प्राप्त कामदार मागपत्र सम्बन्धी कागजातहरु नेपाल सरकारको निर्णय एवं साउदी सरकारको श्रम कानूनमा उल्लेख निश्चित व्यवस्था अनुसार भए नभएको हेरेर मात्र कागजात प्रमाणीकरण गर्ने गरेको छ ।

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्न लगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेकका कारण नेपालबाट वैदेशिक रोजगारमा यहां आउने कामदारहरुको जीविकोपार्जन थप खर्चिलो बन्दै गएको हुंदा नेपाल सरकारले सात वर्षको अन्तरालमा यो न्यूनतम पारिश्रमिक तोकेको यहांहरुलाई जानकारी नै छ ।

नेपाल सरकारले निर्णय गरेको पारिश्रमिकको कार्यान्वयनका अवस्थाका सम्बन्धमा यस राजदूतावासले नियमित रुपमा स्थलगत भ्रमण, कामदार र कामदारका परिवार, कम्पनी मालिक, व्यवस्थापक, म्यानपावर व्यवसायी, नेपाली संघसंस्थाका प्रतिनिधि लगायतका माध्यमबाट जानकारी लिने गरेको छ ।

राजदूतावासले संकलन गरेको पछिल्लो तथ्यांकले साउदी अरवमा नेपाली कामदारहरु पठाउने सन्दर्भमा व्यवसायीहरुवीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदारहरु न्यूनतम पारिश्रमिकको समस्याको जोखिममा पर्नसक्ने सम्भावना अत्याधिक देखिएको हुंदा नेपाल सरकारको निर्णय कार्यान्वयनमा व्यावसायीहरुको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने देखिएको छ ।

माथिको पृष्ठभूमिमा साउदी अरवमा रोजगारीका लागि आउने अदक्ष कामदारहरुको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खाना सुविधाको साउदी रियाल ३०० हुनेगरी मात्र रोजगारदाता वा कामदार आपूर्तिकर्ताहरुसंग सम्झौता गर्न र नेपाली राजदूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकुल हुनेगरी कुनैपनि सम्झौता नगरी संवेदनशील भई नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गरिदिनुहुन साउदी अरवमा कामदार पठाउने सम्पूर्ण इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावासहार्दिक अनुरोध गर्दछ ।


नेपाली राजदूतावास
रियाद , साउदी अरव
२०७६।३।४