साउदी अरबमा क्रियाशील नेपालका इजाजतपत्रवालाहरुलाई नेपाली राजदूतावासको विशेष अनुरोध


कोरोना संक्रमणको यो लामो अवधिमा विभिन्न कम्पनीहरुमा कार्यरत नेपाली कामदारहरुले रोजगारी गुमाउनु परेको वा लामो समय काम विहीन भई बस्नुपरेको अवस्था छ । यस वीचमा केही कम्पनीहरु पूर्णरूपमा बन्द भई कामदारहरु स्वदेश फर्केका छन् भने कतिपय काम खुल्ने अपेक्षामा बसेका छन् । पूर्णरूपमा काममा लगाउन नसकेको अवस्थामा कतिपय रोजगारदाता एवं कम्पनीहरुले कामदारहरुलाई आंशिक रुपमा काममा लगाएको पाइएको छ भने केहीले काम नदिई आवास र खाद्यान्न मात्र उपलव्ध गराएका छन् । केही कम्पनीहरुले दुवै उपलव्ध नगराएका धेरै घटनाहरु पनि यस वीचमा पाइएका छन् । लकडाउन र कर्फ्यूको समयको कठीन् परिस्थिति र आवागमनका भएको चुनौतिका वाबजुत नेपाली राजदूतावासले स्वयं र गैर आवासीय नेपाली संघ साउदी अरब तथा थुप्रै नेपाली संघसंस्थाहरुसंगको समन्वय र सहकार्यमा अफ्ठ्यारो अवस्थामा नेपालीहरुलाई खाद्यान्न र आवासको प्रवन्ध गरिँदै आइएको छ । यो सिलसिला जारी छ । यस क्रममा केही इजाजतपत्रवालाहरूले जिम्मेवारी वोध गरी आफ्नो कम्पनीबाट आइ अफ्ठ्यारोमा परेका कामदारहरुलाई खाद्यान्न उपलव्ध गराउन मद्यत गरेको पाइयो भने अन्य इजाजतपत्रवालाहरूले राजदूतावासको बारम्वारको अनुरोधका वाबजुत कामदारहरुलाई सहयोग गर्ने चेष्टा समेत गरेको पाइएन ।

कोरोना संक्रमणको विद्यमान असहज अवस्थामा मात्र नभई अन्य अवस्थामा समेत आफूले पठाएका कामदारहरुको अवस्थाका बारेमा जानकारी लिई उनीहरुलाई आवश्यक सहयोग गर्नु इजाजतपत्रवालाहरुको मुख्य दायित्व हो ।  केही इजाजतपत्रवालाहरुमा वर्तमान विषम अवस्थामा समेत आफ्नो दायित्वबाट भाग्ने,  कामदारले गरेको गुनासोहरु नसुन्ने, झुठा आश्वासन दिने एवं समस्या सामाधान गर्न राजदूतावासले गरेको बारम्बारको अनुरोधलाई वेवास्ता गर्ने र उल्टै कामदारहरुलाई राजदूतावासले नै समस्या समाधान गर्छ भनेर आफू पन्छिने प्रवृत्ति देखिएको छ ।

तसर्थ, विद्यमान अवस्थामा आफूले पठाएका कामदारहरु प्रति जिम्मेवार हुन, काम कटौति भएर वा कम्पनी बन्द भई खाद्यान्न लगायतका समस्यामा परेका कामदारहरुको खाद्यान्न र आवासको समस्या समाधान गर्न रोजगारदातासंग सम्पर्क र समन्वयका लागि आवश्यक पहल गर्नुहुन नेपाली राजदुतावास अनुरोध गर्दछ । साथै, कामदारहरु कार्यरत कम्पनीमा रोजगारीको सम्भावना नभएमा कामदारहरुको इच्छा बुझी अन्य कम्पनीहरुमा अकामा सहितको रोजगारीको सम्भावना खोज्न वा सोको विकल्प नभएको अवस्थाका कामदारहरुलाई स्वदेश फर्काउन गम्भीर भई पहल गर्नुहुन पनि राजदूतावास इजाजतपत्रवालाहरुलाई स्मरण गराउन चाहन्छ ।

 

नेपाली राजदूतावास, रियाद ।

२०७७।४।१९