वैदेशिक रोजगारीमा साउदी अरब आउने सोचमा रहेका नेपालीहरूलाई अनुरोध

  • पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरुले आफूले म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलव नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले दुख पाएको भन्ने गुनासाहरू आइरहेका छन । आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटनाहरू पनि प्रशस्तै देखिएका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेण्टको भूमिकालाई गैरकानूनी मानेको छ । तसर्थ, ‘एजेण्ट’ को पछि नलाग्नुहोस् । आफूले नै मिहिनेत गरेर म्यानपावर कम्पनी खोज्नुहोस् । पहिला साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसंग कुरा बुझेर मात्र आउनुहोस् । अथवा कम्पनीको नाम काम ठाम कस्तो छ स्पष्ट बुझेर मात्र आउनुहोस् ।
  • साउदी अरब आइसकेपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठीन भएको लगायतका कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्कन सहज छैन । एकजना कामदारलाई साउदी अरब ल्याउन रोजगारदाताले पनि ठूलो धनराशी खर्च गर्ने भएकाले रोजगारदाताहरू पनि कामदारलाई करार सम्झौता नसकी निस्कन दिदैनन् । तसर्थ, साउदी अरब आइसकेपछि तुरुन्त स्वदेश फर्कन सम्भव छैन भन्ने प्रष्ट भएर मात्र आउने नआउने विचार गर्नुहोस्
  • पारिश्रमिकका विषयमा स्पष्ट हुनुहोस् । नेपाल सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता नगर्नुहोस् । नेपाल सरकारले साउदी अरवमा आउने नेपाली कामदारका विभिन्न पदहरूकालागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जस अनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधा वापत साउदी रियाल ३ सय तोकिएको छ ।
  • ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्नुहोस् । ओभरटाइम वा अन्य सुविधा सम्बन्धि यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिन्छ । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नआउनुहोस्
  • संझौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउनुहोस् ।
  • साउदी अरबमा अदक्ष कामदारको रूपमा आउदा बढी शारिरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । तपाईको स्वास्थ्य कमजोर छ वा कुनै विरामी हुनुहुन्छ वा औषधी सेवन गरिरहनु भएको छ भने नआउनुहोस् ।
  • घरेलु तथा सामाजिक समस्या, लागु औषध सेवनको समस्या भएका तथा अवसाद् (Depression) आदि समस्या भ नेपालका सुधार गृहमा राखि सुधार ल्याउनु पर्ने अवस्थाका व्यक्तिहरू नआउनुहोस् । त्यस्ता कामदार यहां आएर सुधार हुने नभइ झन् ठूलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएका छन् । यसमा गम्भीर हुनुहोस् ।
  • यहांको हावापानी सुख्खा र अत्याधिक गर्मी हुने हुँदा खुला ठाँउमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्म/मजरा तथा निर्माणक्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा विचौलिया एवं केही मेनपावर कम्पनीहरूले गलत जानकारी दिइ पठाउने गरेको पाइएको छ । सम्झौतापत्र राम्ररी पढेर मात्र सहिछाप गर्नुहोस् । सम्झौतापत्रमा जे भएपनि काम भने विचौलिया वा मेनपावरले भने अनुसार हुन्छ भन्ने भ्रम बोकेर नआउनुहोस् । सम्झौतामा Labour, Factor, Unskilled worker जे लेखेको भएता पनि यसले अदक्ष कामदारले गर्ने काम हो भन्ने बुझिन्छ । यस अन्तर्गत आइसकेपछि यो वा त्यो मात्र काम गर्ने वा एजेन्ट वा केही म्यान्पावरले मुखले भनेका अन्य कुनै सुविधायुक्त काम मात्र गर्ने भनेर सुख पाइने छैन । रोजगारदाता कम्पनीले अदक्ष कामदारलाई जुनसुकै काम लगाउन सक्नेछ ।
  • सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी देखिएकोले कस्तो कम्पनीमा जादैछु भन्नेमा प्रष्ट हुनुहोस् । कागजातमा उल्लेख कम्पनीका बारेमा वेभसाइट एवं अन्य श्रोतबाट बुझ्नुहोस् । Recruitment Company, Human Resource Company, Manpower Solution जस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्दछन् । सप्लाई पनि बहु तहसम्मको सप्लाई हुने भएकोले विचार पुर्‍याएर मात्र आउनुहोस् । यद्यपि, रोजगारी सहज हुने बेलासम्म यो वा त्यो कम्पनी भन्ने विषयले महत्व राख्दैन । तर समस्या आउदा सप्लाई कम्पनीमा आउनेका एकैपटक ठूलो संख्यामा आउने गर्दछ ।
  • सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा आउने कामदारहरू कम्पनीको कन्ट्राक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ । तसर्थ, कुन कम्पनी मार्फत रोजगारीमा जाने भन्ने निर्णय कामदार स्वयंले गर्न सक्नुहुनेछ ।

वैदेशिक रोजगारीमा साउदी अरबमा आउनु अगाडि माथिका विषयहरूमा गम्भीर मनन गर्नुहुन अनुरोध छ ।

नयां वर्ष २०७९ सोचविचार गरेर मात्र साउदी अरबको रोजगारीमा आउने वर्ष बनोस् । यहि हार्दिक मंगलमय शुभकामना । सकेसम्म स्वदेशमै रोजगारी/स्वरोजगारी अपनाउं ।

 

नेपाली राजदूतावास, रियाद

२०७९ साल वैशाख २ गते