प्रेस विज्ञप्ति : सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८

सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८आज मिति २०७८।६।३ गतेका दिन यस राजदूतावासको चान्सरी परिसरमा विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । सो अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो । कार्यक्रममा नेपालको राष्ट्रियगान बजाइएको थियो भने कार्यवाहक राजदूत श्री दिलिपकुमार पौडेलले नेपालको राष्ट्रिय झण्डा फहराउनु भएको थियो ।

यसअघि असोज १ गते शुक्रबार साँझ राजदूतावासको प्राङ्गणमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा एक स्वागत समारोहको आयोजना गरिएको थियो । सो समारोहमा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरू, साउदी अरबमा क्रियाशिल ५० भन्दाबढी सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, बुद्धिजीवि, पत्रकार, समाजसेवी एवम् अन्य सर्वसाधारणहरू गरी करीब ८० जना भन्दाबढी महानुभावहरूको उपस्थिती रहेको थियो । सो अवसरमा नेपाल पर्यटन बोर्डले तयार पारेको संविधान दिवससम्बन्धी श्रव्य-दृश्य प्रशारण गरिएको थियो ।

कार्यक्रममा नेपाली समुदायको तर्फबाट मन्तव्य राख्नुहुने महानुभावहरूले नेपालको संविधान, २०७२ नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त दस्तावेज भएको हुंदा सम्पूर्ण नेपालीले यसको सम्मान गर्न एवम् स्वामित्व लिन तथा मुलुकको शान्ति, सम्मृद्धि र विकासको लागि यसको सफल कार्यान्वयनमा जोड दिन अपरिहार्य रहेको विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित महानुभावहरूलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कार्यवाहक राजदूत श्री पौडेलले लामो आन्दोलन र वलिदानको उपजको रूपमा प्राप्त नेपालको संविधान, २०७२ ले सम्मृद्धि र विकासको राष्ट्रिय आकांक्षालाई मुखरित गरेको हुंदा सो उद्देश्य प्राप्तिको लागि वर्तमान संविधानको सफल कार्यान्वयनमा आ-आफ्नो तह र तप्काबाट योगदान पुर्‍याउनु सम्पूर्ण नेपाली नागरिकको कर्तव्य भएको बताउनु भयो । नेपाल-साउदी द्विपक्षीय सम्बन्धका बारेमा संक्षिप्त जानकारी दिनुहुंदै कार्यवाहक राजदूत श्री पौडेलले साउदी अरबमा रहेका नेपाली कामदारको समस्या समाधानमा निरन्तर सहयोग पुर्‍याएकोमा साउदी सरकार तथा सम्बन्धित साउदी निकायहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहांले मुलतः श्रम गन्तव्यको रूपमा रहेको साउदी अरब र नेपालको सम्बन्ध मजबुत बनाउन नेपाली श्रमिकहरुले महत्वपूर्ण भूमिका खेलेको बताउँदै दुई देशबीच व्यपार, लगानी र उच्चस्तरीय भ्रमणहरुको आदानप्रदानबाट यो सम्बन्धलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै, उहाँले निरन्तररूपमा राजदूतावाससँगको सम्पर्क तथा समन्वयमा रही साउदीमा अलपत्र परेका नेपाली कामदारको राहत, उद्दार तथा पुनर्स्थापना एवम् उनीहरुको लागि खाना, आवास तथा हवाई टिकटको प्रवन्धमा पुर्‍याएको सहयोगको लागि गैरआवासीय नेपाली संघ-साउदी अरब लगायत अन्य संघसंस्था तथा व्यक्तित्वहरूलाई धन्यवाद दिंदै आगामी दिनमा समेत सोही स्तरको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कोभिड-१९ को विषम परिस्थितिमा नेपाली राजदूतावाससंग निकट रही सहकार्य गरेका गैरआवासीय नेपाली संघ र अन्य केही समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस समारोह कार्यक्रम साउदी सरकारका सम्बन्धित निकायसँगको सम्पर्क एवम् समन्वयमा रहेर कोभिड-१९ सम्बन्धी स्थानीय स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आयोजना गरिएको थियो ।

 

नेपाली राजदूतावास, रियाद
३ असोज २०७८