नेपाल भ्रमण वर्ष २०२० अभियान सम्बन्धमा नेपाली राजदूतावासमा आयोजित अन्तरकृया कार्यक्रम बारे   प्रेस विज्ञप्ति

नेपाल भ्रमण वर्ष २०२० अभियान सम्बन्धमा
नेपाली राजदूतावासमा आयोजित अन्तरकृया कार्यक्रम बारे
 प्रेस विज्ञप्ति

साउदी अरबमा कार्यरत नेपालीहरुसंगको सहकार्यमा व्यापक नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र साउदी अरबबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या वृद्बि गर्ने उद्देश्यले नेपाली राजदूतावास रियादले यहां क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई राजदूतावासमा निमन्त्रणा गरी एक अन्तर्कृया कार्यक्रमको आयोजना गर्यो । महामहिम राजदूत श्री महेन्द्र प्रसाद सिंह राजपुतको संयोजकत्वमा राजदूतावास परिसरमा मिति २०७६/०८/१३  (तदानुसार २९ नोभेम्बर २०१९)  गते शुक्रबारका दिन भएको कार्यक्रममा विभिन्न ३५ नेपाली संघसंस्थाका ७० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रतिनिधिहरुलाई स्वागत एवं सम्वोधन गर्दै महामहिम राजदूतले भ्रमण वर्ष २०२० सफल बनाउन साउदी अरबमा रहेका नेपालीहरुबाट महत्वपूर्ण योगदान पुग्ने भएकोले यस राष्ट्रिय अभियानलाई सफल बनाउन राजदूतावासले नेपाली समुदायसंग हातेमालो गरी अगाडि बढ्ने योजना बनाएको बताउनु भयो । पर्यटन प्रवर्द्बन सम्बन्धी सामाग्रीहरुको उत्पादन, वितरण, भेटघाट एवं सामाजिक माध्यमको प्रयोगबाट साउदी नागरिकहरुवीच नेपालको पर्यटकीय सुन्दरता र महिमाको प्रचार गर्नु आवश्यक रहेकोमा महामहिम राजदूतले जोड दिनुभयो । कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरुले अन्तरकृया कार्यक्रममा आफूहरुलाई निमन्त्रणा गरेकोमा राजदूतावासलाई धन्यवाद दिदै भ्रमण वर्षलाई सफल बनाउन उपयोगी हुने अनुभव र सुझावहरु प्रस्तुत गर्नुभयो । उहांहरुले नेपालको पर्यटन प्रवर्द्बन र भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानलाई सफल बनाउन राजदूतावासले अगाडि सारेका योजना र कार्यक्रमहरुमा सहयोग र सहकार्य गर्ने प्रतिवद्बता व्यक्त गर्नुभयो । भ्रमण वर्ष २०२० को शुरूवातमा पर्यटन प्रवर्द्बन सम्बन्धी प्रचार प्रसारका सामाग्रीहरूको उत्पादन र वितरणमा प्राथमिकता दिनुपर्नेमा सबैको जोड रह्यो । यसका लागि राजदूतावासले सामाग्रीहरूको आवश्यकताको आंकलन, राजदूतावासको साधनस्रोतको अवस्था लगायतका विषयमा शीघ्र तयारी गरेर समुदायसंग औपचारिक समन्वय गरी अगाडि बढ्नु उपयुक्त हुने सुझाव अन्तरकृयाका सहभागिहरुले  दिनुभयो ।

यसै सन्दर्भमा राजदूतावासले मिति २०७६ कार्तिक २२ मा गैरआवासीय नेपाली संघ साउदी अरबका प्रतिनिधिहरु तथा मिति २०७६ मंसिर ६ गते नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली एकता मञ्च साउदी अरबका प्रतिनिधिहरुसंग छूट्टाछुट्टै छलफल गरी भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गरेको थियो । भ्रमण वर्ष २०२० सफल पार्न सहभागीहरुबाट महत्वपूर्ण राय सुझाव एवं प्रतिवद्बता प्राप्त भयो ।

भ्रमण वर्ष २०२०  र नेपालको पर्यटन प्रवर्द्बनका सन्दर्भमा राजदूतावासले आयोजना गरेका यी कार्यक्रममा आफ्नो छोटो विदाको समयलाई समेत कुशल व्यवस्थापन गरी राजधानी रियाद र वरिपरि तथा टाढाटाढका क्षेत्रहरु हायल, दम्माम, जुवेल,खोवर, हासा तथा कसिम लगायतबाट उपस्थित भइ आफ्नो अमूल्य समय, सुझाव र सहयोगको प्रतिवद्बता व्यक्त गर्नुभएकोमा यहांहरुप्रति  नेपाली राजदूतावास आभार व्यक्त गर्दछ ।

 

नेपाली राजदूतावास
रियाद 
२०७६/०८/१३