ईदका अवसरमा साउदी अरबमा कार्यरत समस्त नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावासको हार्दिक अनुरोध

ईदका अवसरमा साउदी अरबमा कार्यरत समस्त नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावासको हार्दिक अनुरोध ।

 

साउदी अरबमा इदुल फित्र र इदुल अज्हाको समयमा लामो विदा पाइन्छ । ईदको विदाका समयमा साउदी कानूनले पूर्णतः निषेध गरेको मद्यपान, असन्तुलित खानपीन, सवारी वा सडक दुर्घटना, आपसी वा अन्य देशका नागरिकसंगको झैझगडा, लेनदेन विवाद लगायतका कारणले थुप्रै संख्यामा नेपाली श्रमिकहरुको मृत्यु, घाइते, अस्पताल भर्ना वा कानूनी कार्यवाहीमा पर्ने गरेको विगतको तथ्यांकले देखाएको छ ।

तसर्थ, ईद लगायतका विदाका समयमा देहायका विषयमा गम्भीरतापूर्वक सतर्कता अपनाइदिनुहुन तमाम नेपाली समुदाय तथा श्रमिक दाजुभाइ दिदी बहिनीहरूमा नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

  • इदका समयमा नेपाली श्रमिकहरु पनि कामबाट मुक्त हुने हुँदा खेलकुद,आपसी भेटघाट,खानपिन,यात्रा, भ्रमण आदि विभिन्न कार्यक्रम गरी रमाइलो गर्ने गर्दै आउनुभएको छ । यस प्रकारका कार्यक्रमले कामको तनावबाट मुक्ति दिने, स्वस्थ राख्ने एवं दैनिकीलाई गतिशीलता प्रदान गर्दछन् । तर यस्तै कार्यक्रममा नेपाली श्रमिकहरूले मद्यपान गरी झगडा गर्दा ज्यानमाथि नै खतरा भएका घटनाहरु हुने गरेकाले सतर्क भइदिनुहोला ।
  • एकैसाथ भेला भइ खानपिनकै क्रममा घरेलु मद्यपान,अत्याधिक धुम्रपान, लागूपदार्थ तथा वर्जित खाद्यपदार्थ उपभोग गरेको अभियोगमा विगतमा ठुलो संख्यामा कामदार कारवाहीमा परेको, मुद्धा किनारा लगाउन दूतावासको ठूलो श्रोतसाधन खर्च भएको र उद्धार गर्न लामो समय लाग्ने गरेको छ ।
  • खाद्यपदार्थ र खाद्य शैली नमिलाउदा फुड प्वाइजन भएर ज्यान जाने सम्मका घटना भएका छन्। माछामासु र दुधदही जस्ता प्रोटिन र मोटोपन ल्याउने पदार्थयुक्त खाद्यान्नहरु एकैपटक खादा शरीरले सन्तुलन मिलाउन नसक्ने हुंदा खाना खादा सावधानी अपनाउनुहोस् ।
  • साउदी अरबमा नेपाली श्रमिकहरूले इमान्दार, अनुशासित, मेहनती, राम्रो काम गर्नेमा नाम कमाएका छन । तर मादक पदार्थको उत्पादन, ओसारपसार, वितरण, सेवन  गर्ने एवं मारपिट, झैझगडा, जस्ता अशोभनीय घटनामा नेपालीकोसंख्या उल्लेखनीय रहेको रोजगारदाताहरुले बताउने गरेका छन् । यो संख्या ईदका समयमा झन बढ्ने गरेको छ। यस्ता काममा संलग्न नहुनुहोला । गैरकानूनी पदार्थको उत्पादन, ओसारपसार, विक्रि वितरण र उपभोग नगर्नुहोला ।
  • यात्रा गर्दा अकामा नभएका व्यक्तिलाई आफ्नो सवारीमा संगै नलैजानुहोस् । यात्रामा सवारीका कागजातहरू र सवारी अनुमति पत्र विना सवारी नचलाउनुहोस् । सवारी चलाउदा सवारीका नियमहरू पालना गर्नुहोस् । मादक पदार्थ वा अन्य नसालु पदार्थको प्रयोग गरेर वा सवारीसाधनमा यी पदार्थ राखी सवारी नचलाउनुहोस ।
  • यात्रा वा भ्रमणमा जाँदा साथीभाइ एकआपसमा झगडा नगर्नुहोस । खुला ठाँउमा भेला भएकाबेला साउदी कानूनले वर्जित गरेका कुराहरू नगर्नुहोस ।नेपाली राजदूतावासले श्रमिक सुरक्षा सम्बन्धी जारी गरेका विभिन्न समयका सूचनाहरु पटक पटक हेर्ने र सम्झिने गर्नुहोस् ।
  • यात्रा वा अन्य समयमा सहकर्मी, अन्य साथि वा अग्रजले तपाइको रोजगारी, आम्दानी, सहयोग, सरसापट लगायतका विषयमा गर्ने कुनैपनि लोभलाग्दा कुराकानीमा तुरुन्त विश्वास नगर्नुहोस् । यसले तपाईमा समस्या निम्ताउन सक्छ र तपाइको भइरहेको रोजगारी समेत गुम्ने र गैरकानूनी हुने अवस्था आउन सक्छ ।
  • मद्यपान आदिगरेको समयमा कसैले तपाइको अकामा वा बैंक कार्ड माग्न सक्छन् । नदिनुहोस् । यी कार्डहरु कसैलाई दिनेमा अन्य समयमा समेत सजग हुनुहोस् ।
  • समुदायमा तपाइले भेटेका कतिपय आफूलाई समाजसेवी भनी चिनाउन खोज्ने कतिपय व्यक्तिहरुको आवरण एउटा र आचरण अर्को पनि हुन सक्छ । होस पु-याउनुहोस् । कुनैपनि कागजमा बुझ्दै नबुझी सही नगर्नुहोस् ।
  • अरूको लहै लहैमा लागेर काम छोड्ने, कम्पनी छोड्ने वा लोभमा परी चोरी गर्ने वा अबैध वन्ने काम नगर्नुहोस् ।
  • आफ्नो सानो सतर्कताले आफू, आफ्नो परिवार, आफन्त, समुदाय र अन्ततः मातृभूमिको सुख र समृद्बिमा मद्यत राख्दछ भन्ने मनन् गर्नुहोस ।
  • विदेशी भूमिमा कठोर परिश्रम गरी आर्जेको रकम फजुल खर्च गरेर नसक्नुहोस् । वचत गर्नुहोस् । आजको सानो वचतले भोलि यहांलाई धेरै मद्यत गर्नेछ । वचतलाई उत्पादनमा लगानी गर्न सकिन्छ । घर परिवारलाई पनि दुःखले आर्जेको रकम अनावश्यक खर्च गर्न नदिनुहोस् । घर परिवारलाई पनि मिहेनत गर्न र बांझो खेतबारीमा केही उव्जाउनु पर्छ भनेर सिकाउनुहोस् ।
  • अन्तमा, नेपाली राजदूतावासले जारी गर्ने अनुरोध र सूचनाहरु लामो समयको अध्ययन, कामदारहरुको अनुभव र पृष्ठपोषण रतथ्यांकहरुको विश्लेषणका आधारमा तयार गरिने भएकाले यी सूचनामा भएका आफूलाई काम लाग्ने विषयलाईगम्भीर रुपमा लिइदिनुहुन साथै विचारणीय पक्षहरुलाई सम्भव भएसम्म साउदीमा रहेका धेरै भन्दा धेरै जनामा पु-याइदिनुहुन समेत अनुरोध छ। श्रमिक हकहितका समग्र विषयमा नेपाली राजदूतावास सधैं क्रियाशील छ ।

 

इस्लाम धर्मावलम्वीहरुको पवित्र धार्मिक कार्यक्रम हज र पवित्र चाड इदुलअज्हाको अवसरमा नेपाली राजदूतावास रियाद हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

 

 

नेपाली राजदूतावास
रियाद
२०७६।४।२२